यौन-शिक्षा

तनावले यौन उत्तेजनामा कमी !

तनावले यौन उत्तेजनामा कमी !

यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज राम्ररी खुल्न सकेको छैन । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्म हो । तर, यसको मनोवैज्ञानिक आयाम सबैभन्दा महत्वपूर्ण हुन्छ ।

यही तथ्य नबुझिदिँदा विभिन्न समस्या आइलाग्छन् । हाल थुप्रै पुरुष (केही हदसम्म महिला पनि) ले भोगिरहेको पीडा हो– उत्तेजना समस्या, जसलाई मेडिकल भाषामा ‘इरेक्टाइल डिसफंक्सन’ भनिन्छ । अलिकति मनोपरामर्शले, अलिकति उपचारले समाधान हुने यो समस्या यति विकराल किन भइरहेको छ ?

श्रवण २९ वर्षका भए, ऋचा २८ टेक्दै छिन् । वैवाहिक सम्बन्धको दोस्रो वर्षगाँठ गत जेठमा मनाइसकेको यो जोडी झट्ट हेर्दा हाँसीखुशी नै देखिन्छ । तर, आफूहरूमा थेरैथोक अपुग ठान्छन् उनीहरू । उनीहरूकै शब्दमा अहिलेसम्म उनीहरूबीच शारीरिक सम्पर्कको प्रयास सफल हुन सकिरहेकै छैन । हरेक रातका असफल प्रयासका नमीठा अनुभवले यो जोडीलाई भित्रभित्रै जलाइरहेको छ । श्रवणको लिंग उत्तेजित नै नभइदिने समस्याले यो जोडी आजित छ ।

लगनगाँठो कसिएको अढाई वर्षसम्म पनि शारीरिक सुखको अनुभव गर्न नपाएको यो जोडी अहिले यौन परामर्शदाता डा. बद्रीप्रसाद भट्टराईसँग उपचार गराइरहेको छ । भट्टराईका अनुसार यो जोडीलाई मनोवैज्ञानिक यौन परामर्शको प्रयास भइरहेको छ । श्रवणलाई हर्मोन वृद्धि गर्नेबाहेक अरू औषधि चलाउनुपरेको छैन । ‘शारीरिक रूपमा स्वस्थ भए पनि उनीहरू यौन सुखका लागि चाहेका बेला मानसिक रूपमा तयार हुन नसक्ने समस्या छ,’ भट्टराईले भने, ‘जहिल्यै मैले यौन सुख दिन सक्दिनँ होला भन्ने नकारात्मक सोचका साथ श्रीमतीका अगाडि पुगेपछि कसरी लिंग उत्तेजित हुन्छ ?’

आफ्नी श्रीमतीलाई सन्तुष्ट बनाउन सक्दिनँ भन्ने मनोभावले कुण्ठित बन्दै सुरु भएको सन्तोषको दाम्पत्य जीवन तीन महिनामै टुंगियो । स्कुल उमेरदेखि नै सन्तोषलाई आफ्नो लिंग साथीभाइलगायत अरूको भन्दा ‘बिचरो’ लाग्थ्यो । उत्तेजित नभएका बेला झन् सानो देख्दा उनी चिन्तित हुन्थे । ‘कतै म अपूर्ण त छैन ?’ उनलाई आफैँमाथि शंका लाग्थ्यो । डाक्टरलाई देखाए । ‘मेडिकल्ली फिट छ’ मात्र भन्ने डाक्टरको जवाफ हुन्थ्यो । यत्तिकैमा धुमधाम मागी बिहे भयो उनको ।

सुहागरात सुखद हुनुपर्छ भन्ने सुनेका थिए उनले । ‘तर, खै यति सानो लिंगले कसरी सुखद हुन सक्छ ?’ भन्ने सोचले उनको पहिलो रात निरस रह्यो । लिंगले साथ नै दिएन । दिनदिनै यो समस्या बढ्न थाल्यो । तीन महिनापछि सन्तोषकी नवविवाहित श्रीमतीले आशै मारिन् । ‘यस्तासँग जिन्दगी बित्न सक्दैन’ भन्ने नमीठो प्रहार गरेर सन्तोषलाई त्यागेको घोषणासहित माइती लागिन् ।

‘आफू साँच्चिकै अपूर्ण नै भएको हो त ?’ सुनिश्चित हुनका लागि सन्तोष यौन परामर्शका लागि डाक्टरकहाँ पुगे । बल्ल थाहा भयो– उनलाई सामान्य मानसिक समस्या नै सुरु भइसकेको रहेछ । आफ्नो अंगप्रतिको उनको असन्तुष्टि बढ्दै गएको देखियो ।

उनको लिंगको आकार सामान्य नै रहेको र मानसिक कुण्ठाका कारण उत्तेजित हुन नसकेको भनेर मनोचिकित्सकले बताएपछि उनी अहिले उपचाररत छन् ।

लिंग उत्तेजित नहुने समस्याले आजित थिए, रमेश । प्रेम सम्बन्ध जोडिएको दुई वर्ष भइसकेको थियो । अर्को वर्ष बिहे गर्ने योजना पनि बनिसक्यो । तर, उत्तेजना समस्याका कारण उनको सम्बन्धले सुखद मोड लेला भन्नेमा उनी सशंकित थिए । शारीरिक रूपमा फिट नै छन् उनी । मेडिकल चेकअप गर्दा पनि केही देखिएन ।

परामर्शका लागि डा. समन रूपाखेतीकहाँ पुग्दा थाहा भयो, सामान्य कुराबाट सुरु भएको समस्याले जटिल रूप लिएको थियो । डा. रूपाखेतीका अनुसार रमेशलाई प्रेमिकाको शरीरबाट आउने गन्ध मनै पर्दैनथ्यो । जसले उनको लिंग उत्तेजनामा प्रत्यक्ष प्रभाव पारेको थियो । उनी प्रेमिकालाई भन्न पनि सक्दैन थिए– ‘तिम्रो शरीरबाट आउने ‘स्मेल’ मलाई मन पर्दैन ।’ यही कारणले उनीहरू जतिबेला सेक्सका लागि तयार हुन्थे, त्यतिबेला रमेशको अंगले स्वाभाविक कार्य गर्दैनथ्यो ।

‘लगातारको मनोपरामर्शपछि समाधान लगभग भइसक्यो,’ डा. रूपाखेतीले भने, ‘यौन सुख भनेको शरीरले भन्दा धेरै मनले प्राप्त गर्ने कुरा हो । मनै बेचैन भएपछि कसरी लिंगले साथ दिन्छ ?’ उनका अनुसार लिंग उत्तेजित नहुने अर्थात् ‘इरेक्टाइल डिसफंक्सन’को समाधान भनेकै धेरैजसो केसमा मनोपरामर्श मात्र हो ।

विवाहपछि हनिमुन मनाउन पोखरा पुगेका काठमाडौँका राकेशले श्रीमतीसँग सहवास गर्न खोज्दा उनको लिंग उत्तेजित नै भएन । जति कोसिस गर्दा पनि उनको लिंग कडा नभएपछि उनी हीन भावना लिएर काठमाडौँ फर्किए । आफ्नो समस्या लिएर वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायकोमा पुगेका उनको स्वास्थ्यमा खासै केही समस्या नरहेको परीक्षणबाट पत्ता लाग्यो ।

पहिलो सहवासमा राम्रो ‘पर्फर्मेन्स’ गर्न सकिँदैन कि भन्ने डर र सेक्स अगाडि गर्नुपर्ने ‘फोरप्ले’ नगरेका कारण उनको हनिमुन निरस भएको डा. उपाध्यायले पत्ता लगाए । सेक्सबारे सामान्य परामर्श दिएपछि उनको समस्या एकाएक ठीक भयो । केही दिनपछि डा. उपाध्यायकोमा ‘फलोअप’मा आउँदा उनी निकै खुशी देखिन्थे ।

विवाहको अन्तिम तयारीमा जुटिरहेको कुनै युवा लिंग उत्तेजित नहुने समस्या लिएर चिकित्सकोमा पुग्दा ऊ कस्तो मनस्थितिमा होला ? पक्कै पनि ऊ निकै हतास र डराएको हुन्छ । चिकित्सकहरूका अनुसार विवाह गर्ने उमेरका युवा बिहेपछि श्रीमतीसँग सेक्स गर्न सक्दिनँ कि भन्ने डरले निकै नै तनावमा हुने गरेका छन् । कुनै शारीरिक रोग नहुँदा पनि ‘एन्जाइटी’ वा ‘डिप्रेसन’का कारण उत्तेजना नहुने समस्या लिएर युवाहरू चिकित्सककोमा पुग्ने गरेका छन् । मेरो लिंग उत्तेजित हुँदैन भन्न पनि नसक्ने र समस्यालाई लुकाएर राख्नेहरू धेरै भएको चिकित्सकहरू बताउँछन् ।

मनोचिकित्सक डा. रवि शाक्य यौन उत्तेजनामा समस्या भएर उपचार गराउन आउनेहरूमा विवाह गर्ने उमेर भएका युवायुवती र नवविवाहित जोडीहरू नै धेरै हुने गरेको बताउँछन् । उनका अनुसार यौन तथा चर्म रोग र मूत्र प्रणाली सम्बन्धी रोगको उपचार गर्ने चिकित्सकोमा पुगेर त्यहाँबाट ‘रिफर’ भएर आउने धेरै हुन्छन् । कतिपय युवा चाहिँ विज्ञापनको पछाडि लागेर यौन उत्तेजना बढाउने औषधि सेवन गरेको तर केही उपलब्धि नभएको भन्दै हतास मनस्थितिमा अस्पताल आइपुग्ने गरेको उनी बताउँछन् ।

यौन उत्तेजना समस्या महिला र पुरुष दुवैमा हुन सक्ने डा. शाक्यको भनाइ छ । महिलामा यौनक्रियाका बेला यौनांग फुल्ने तथा चिप्लो हुनुपर्नेमा सुक्खा भइदिनाले सहवास पीडादायी हुने वा सम्बन्ध स्थापित नै गर्न नसक्ने हुन्छ । पुरुषमा लिंग उत्तेजित नहुने वा चरम सन्तुष्टिसम्म पुग्न नसक्ने वा सम्बन्धमा नै सहभागी हुन नसक्ने हुन्छ ।

‘यस्तो अवस्था नै इरेक्टाइल डिस्फंकसन हो,’ डा. शाक्यले भने । यौन इच्छा कम हुने वा पटक्कै नहुने अवस्थालाई ‘हाइपोसेक्सुआलिटी’ भनिन्छ । डा. शाक्यका अनुसार यो सुरुदेखि नै उपस्थित हुन सक्छ वा केही समयको सामान्यपन पछि आउन सक्छ । यो कुनै जैविक त्रुटिबिना पनि हुन सक्छ वा विभिन्न शारीरिक एवं मानसिक रोगका कारण पनि हुन सक्छ ।’

उत्तेजना समस्या

सम्भोगका लागि लिंगका नसाहरूमा रक्तप्रवाह भई लिंग निश्चित सीमासम्म कडा हुनु जरुरी हुन्छ । कडा वा उत्तेजित नभएको लिंग योनीमा प्रवेश गराउन सकिँदैन । सम्भोगका बेला लिंग कडा वा उत्तेजित नहुने समस्यालाई लिंग उत्तेजनाको समस्या (इरेक्टाइल डिस्फंक्सन) भनिन्छ । एक अध्ययनअनुसार ४० देखि ७० वर्ष उमेरका ५० प्रतिशत पुरुष लिंग उत्तेजनासम्बन्धी समस्याले ग्रस्त छन् । तीमध्ये १० प्रतिशत पुरुषको लिंग बिलकुल उत्तेजित हुँदैन ।

सन् १९९० को दशकको अन्त्यतिर मात्रै उत्तेजना समस्या (इरेक्टाइल डिस्फंक्सन) बारे व्यापक छलफल र बहस हुन थालेको हो । चलनचल्तीको भाषामा यसलाई नपुंसकता पनि भन्ने गरिन्छ । जानकारहरूका अनुसार विश्वका धेरै मानिस यो यौनसमस्याबाट प्रताडित छन् । तर, इरेक्टाइल डिस्फंक्सनबारे पुरुषहरू एकदमै कम खुल्छन् । सेक्सोलोजिस्ट डा. सुबोधकुमार पोखरेल ‘इरेक्टाइल डिस्फंक्सन’लाई कमजोर पुरुषत्वको प्रमाण मान्ने गलत धारणाका कारण धेरैले यो समस्या लुकाउने गरेको बताउँछन् ।

‘नपुंसकताका धेरै प्रकार हुन्छन् । यौनसम्पर्कका लागि मन हुँदाहुँदै पनि लिंग उत्तेजित नहुनु र भए पनि सम्भोगका लागि पर्याप्त समयसम्म लिंगमा उत्तेजना कायम नहुनु एक प्रकारको नपुंसकता हो,’ डा. पोखरेल भन्छन, ‘सजिलो भाषामा भन्दा लिंगमा कडापन नआउनु या छिट्टै नरम हुनु र वीर्य स्खलनको अवस्थासम्म नपुग्नु इरेक्टाइल डिस्फंक्सन हो । यो समस्या दिन प्रतिदिन बढ्दै जान्छ । यस्तो समस्या प्रायः भइरह्यो भने डाक्टरसँग सल्लाह गर्न ढिलो गर्नु हुँदैन ।’

उनका अनुसार नपुंसकताको समस्या भएका अधिकांश पुरुष यससम्बन्धी कुरा गर्न असजिलो र अप्ठ्यारो मान्छन् । अत्यधिक मदिरा सेवनपछि र दुःखको बेला भावनात्मक चापले गर्दा लिंगमा उत्तेजना (इरेक्सन) नहुनु नपुंसकता होइन । स्खलन भइसकेपछि तुरुन्त सम्भोगका लागि तयार हुन नसक्नु पनि नपुंसकता होइन ।

के कारणले हुँदैन उत्तेजना ?

‘लिंग उत्तेजित नहुने धेरै कारण हुन्छन्,’ युरोलोजिस्ट डा. सुबोध रेग्मी भन्छन, ‘लिंगमा हुने धमनीमा हुने रक्तसञ्चारको अवरोधले गर्दा पनि इरेक्टाइल डिस्फंक्सन हुने गर्छ । नपुंसकताका अरू कारण औषधि, रोग, दुर्घटना र प्रोस्टेट ग्रन्थीको शल्यक्रिया आदि हुन् । चिन्ता, वैवाहिक समस्या र उदासीनता(डिप्रेसन) ले पनि यो समस्या हुनसक्छ ।’

मधुमेह, मिर्गाैलाको समस्या, प्रोस्टेट ग्रन्थीको समस्या, मोटोपन, धमनी र स्नायु समस्या नपुंसकता गराउन सक्ने शारीरिक कारण भएको डा. रेग्मी बताउँछन् । त्यस्तै, अत्यधिक मदिरासेवन र धूम्रपानले पनि लिंगमा उत्तेजना आउँदैन । कहिलेकाहीँ शारीरिक र मानसिक समस्या दुवैका कारणले यो समस्या हुन सक्छ । जेजस्ता कारणले लिंग उत्तेजित नभए पनि यसको भरपर्दो समाधान छन् । मोटा पुरुषले आफ्नो वजनमात्र घटाए पनि यो समस्या कम गर्न सकिने चिकित्सकहरू बताउँछन् । औषधिले काम नगरेको खण्डमा इन्जेक्सन र अन्य उपाय पनि छन् ।

धेरै मानिसलाई ढल्किँदो उमेरसँगै नपुंसकता पनि बढ्दै जान्छ भन्ने भ्रम हुन्छ । पुरुषमा पाइने टेस्टोस्टेरोन (जुन यौनकार्यका लागि आवश्यक हुन्छ) भन्ने हर्मोन बढ्दो उमेरसँगै शरीरमा घट्दै गए पनि शरीरमा हुनुपर्ने सामान्य तह चाहिँ रहिरहेको हुन्छ । शरीरमा बढ्दो उमेरसँगै धेरै परिवर्तन हुन्छन्, तर पनि नपुंसकता किन हुन्छ भनेर किटान गर्न सकिँदैन ।

कहिलेकाहीँ नपुंसकता विभिन्न रोगले पनि हुनसक्छ । ती रोगमा प्रयोग हुने औषधिका ‘साइड इफेक्ट’ले पनि नपुंसकता हुन सक्छ । ‘तर, स्वास्थ्यवद्र्धक खानेकुरा, व्यायाम र खानपानमा सन्तुलनले उच्च रक्तचाप वा मधुमेहलाई रोक्न र निको पार्न सकिन्छ । स्वस्थ जीवन व्यतीत गरेमा यौन दुर्बलता हुन पाउँदैन,’ डा. रेग्मी भन्छन् ।

Sex with Man