कभर स्टोरी मेरो परिवार मेरो कथा अपराध सुरक्षा

मेरी छोरीलाई बलात्कार गरी हत्या गर्ने खुलेयाम हिंडिरहेको छ, म कसरी बाचूँ ?

सागर बुढाथोकी

मेरी छोरीलाई बलात्कार गरी हत्या गर्ने खुलेयाम हिंडिरहेको छ, म कसरी बाचूँ ?

 

रामेछाप सैपु १ की ४२ वर्षीय डिल्लीमाया तामाङ माइती नेपाल परिसरमा डाँको छोडिरहेकी थिइन् । उनको अलाप सुन्न भीड लागेको थियो । कोही आँखा पुछिरहेका थिए । कोही डिल्लीमायालाई एक तमासले हेरिरहेका थिए । डिल्लीमाया भक्कानिएको स्वरमा भन्दै थिइन्, ‘यहाँमा पनि केही भएन । कि न्याय दिनु कि गोली ठोकेर मारिदिनु !’

डिल्लीमायाकी छोरी सुन्तली तामाङ कक्षा सातमा पढ्दै थिइन् । सैपु १ खुुर्दुकी घर भएका १९ वर्षीय श्याम राउतले सुन्तलीलाई बलात्कार गरेर हत्या गरेका थिए । त्यतिबेला सुन्तली १४ वर्षकी थिइन । बुवा बलवहादुर तामाङको ज्याला मजदुरीले परिवार चलेको थियो । डिल्लीमायाले ५ छोरी र २ छोराको घरमा बसेर हेरचाह गर्थिन् ।

०६८ माघ ५ गते घर नजिकै सिरिसे बजारमा सामान किनमेल गरेर डिल्लीमायाको आमाछोरी आफ्नो घरतिर लागेका थिए । छोरी सुन्तली सिधै घर लागिन् । डिल्लीमाया बस्तुभाउलाई घासपात गर्न गोठतिर लागिन् । उनी घरमा पुग्दा छोरी सुन्तली थिइनन् । बाहिर गएकी होला भनेर उनले त्यति ध्यान दिइनन् ।

एकछिनपछि सोधखोज गर्दा सुन्तलीको पत्तो लागेन । जंगलतिरबाट केही ठूलो चिच्याहट सुनिएको थियो । तर, त्यो चिच्याहट उनको परिवारलाई परेको महाविपत्ति हो भन्ने उनले कल्पनासमेत गरेकी थिइनन् । सुन्तली त्यो रात फर्केर आइनन् । उनीहरुले खोजी कार्य जारी राखे । खोज्दा दोज्दै डिल्लीमाया लखतरान भइसकेकी थिइन । सुन्तलीको केही अत्तोपत्तो लागेकोे थिएन ।

हराएको १६ दिनपछि लिखु नदी किनारमा सुन्तलीको शव भेटियो । उनको बलात्कारपछि हत्या गरिएको थियो । कवैटार खुदुर्की भन्ने स्थानमा उनको बलात्कारपछि हत्या गरिएको रहेछ । ढुंगाको चेपमा भेटिएको शवको कम्मर मुनि कपडा थिएन । सुन्तलीको मृत शरीर हेर्न नसकिने विभत्स थियो ।


सुन्तलीको त्यो दृश्य देखेर उनी मरेतुल्य भइन । आफ्नो कलिलो छोरीको त्यो दृश्य आफ्नै आखा अगाडि देख्नुपर्दा उनले होस गुमाइन । आफ्नै छोरीको त्यस्तो विभत्स दृश्य कुन आमाले देख्न सक्छ र ! माइती नेपालको प्रांगणमा उनले यति भनिरहदाँ उनी मात्र होइन उनको कथा सुन्नेहरु भक्कानो छोडेर रोएका थिए ।

डिल्लीमायाले सो घटनामा संलग्न रहेका व्यक्तिहरुका विरुद्ध किटानी जाहेरी दिन मन्थलीस्थित जिल्ला प्रहरी कार्यालय गइन् । तत्कालीन प्रहरी प्रमुख डीएसपी सञ्जीव शर्मा दासले उजरी नै दर्ता गर्न मानेनन् । बलात्कृत भएर मान्छे मरेको छ तैपनि मुद्दा दर्ता नहुदाँको पीडा शब्दमा व्यक्त गर्ने सामथ्र्य नभएको उनी बताउछिन् ।

प्रहरीले उजुरी दर्ता गर्न मानेन । उल्टै अभियुक्त श्याम राउतका दाजु ज्ञानेन्द्र राउतले फोन गरेर तुरुन्त गाउँ छाडेर नभागे सबै परिवारलाई सिध्याइदिने धम्की दिए । त्यो धम्कीपछि डिल्लीमायाको परिवार सिन्धुलीको रानीबासतर्फ बसाइँ सर्न बाध्य भयो ।

डिल्लीमाया आफ्नी छोरीको बलात्कारीमाथि कारवाहीको माग गर्दै अधिवक्ता नानीबाबु दाहालको सहयोगमा सिंहदरबार छिरिन । उनको पीडा सुनेर मुख्य सचिब लिलामणी पौडेल र तत्कालिन गृहसचिब नविन घिमिरे भावुक भए । त्यसपछि उनको मुद्धामा केही चासो देखियो । तत्कालिन प्रहरी प्रमुख रविन्द्र प्रताप शाह र प्रहरी अनुसन्धान ब्युरो प्रमुख उपेन्द्रकान्त अर्यालले तत्कालै कारबाही हुन्छ भन्ने आश्वाशन दिएका थिए ।

घटना भएको ५ महिनामा आश्वासन पाउदाँ उनलाई अब चाहि केही हुन्छ की भन्ने आश पलाएको थियो । घटना भएको ५ वर्ष बित्दासमेत उनले न्याय पाएकी छैनन् । किटानी जाहेरी दर्ता नगरी बलात्कारी र हत्यारालाई उम्काउन खोज्ने तत्कालीन डीएसपी संजिव शर्मालाई २४ घण्टे लगाएर गृह मन्त्रालयले तान्यो । उनका ठाउँमा पठाइएका डीएसपी गोपालचन्द्र भट्टराईले पुरानै मिति अर्थात फागुन ३ मिति राखेर किटानी जाहेरी दर्ता गरे ।

त्यो दर्ता जेठ १२ मा घटना भएको ५ महिनापछि गरिएको थियो । ‘त्यतिबेला अपराधीहरु खुलेआम हिडिरहेका थिए । प्रहरीले मुद्दा दर्ता गर्न मानेन । अहिले पनि तिनिहरु खुलेआम नै हिडिरहेका छन् । तिनीहरुको परिवारलाई सोध्ने हो भने सबै थाहा हुन्छ । त्यैपनि कारबाही भएको छैन,’ डिल्लीमाया सुनाउछिन् । पाँच महिनाको बीचमा अभियुक्त गाउँ छाडेर भागिसकेका थिए ।

अभियुक्त श्याम राउतको नाममा किटानी जाहेरी दर्ता भए पनि डिल्लीमायाले अरु दुई भाइ समेत संलग्न रहेको बताउछिन् । उनीहरु सुन्तलीका छिमेकी हुन् । सँगै घाँस दाउरा मेलापात गर्नेहरुको गिद्धे नजरमा परेर उनी बलात्कृत भएकी थिइन् । डिल्लीमायाको परिवार अझै पनि दुःखको महासागरबाट निस्कन सकेको छैन । उनी आफ्नोे छोराछोरीलाई एक्लै कतैपनि हिड्न नदिएको बताउछिन् ।

अझैपनि डिल्लीमायालाई धम्की आइरहेकाले आफू अरु सन्तान गुमाउन नचाहने बताउछिन । ‘न्याय माग्न बाचुन्जेलसम्म छोड्दिन । कोपिलाजस्तो छोरी गुमाएपनि न्याय गुमाउदिन,’ उनी रुदैँ भन्छिन् –‘मैलै न्याय माग्न छोडे भने मेरो छोरीको आत्माले मलाई सराप्छ । सपनामा पनि सुन्तली आएर आमा ती पापीलाई नछोड्नु भन्छे । म न्याय माग्न बाहेक के गर्न सक्छु र ?’

छोरीका हत्यारामाथि कारवाहीको मागको लागि यताउता हिड्दा उनको भएभरको सम्पती सकिसकेको छ । ‘छोरीको न्यायको लागि छोराहरुलाई खाल्टामा पुरे । भएभरको सम्पती सबै सकाए,’ उनी भन्छिन – ‘छोराहरुले गरी खानको लागि केही छैन । गरिबका लागि न्याय पनि धेरै महंगो पर्दो रहेछ ।’ छोरीको हत्यापछि भएको ५ वर्ष बितिसक्दा पनि सुन्तली अरु ५ जना लालाबालाको हेरचाहर र खेतीपातीमा फर्किन सकेकी छैनन् ।

उनका श्रीमान बबहादुर मेघालयको कोइलाखानीको काम छोडेर बालबच्चाहरुको हेरचाह गरेर गाउँमै बनिबुतो गरिरहेका छन । छोरीको हत्यासंगै उनले न्यायको खोजीमा भौतारिदा र लालाबालाको पालनपोषण गर्दा १५ लाख भन्दा बढी ऋण परेको छ । उक्त ऋणको ब्याज मात्रै वर्षको ९ मुरीभन्दा बढी धान तिर्नुपर्ने अवस्था छ ।

उनी आफ्नै जीवनदाइ धिक्कार्दै भन्छिन् – ‘म संसारकै अभागी आमा रै‘छु । आफ्नो कोपिला समान छोरीको अस्मिता लुटेर हत्या गर्ने हत्याराले सजाए पाएको छैन ।’ उनी प्रश्न गर्छिन – ‘किटानी उजुरी दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले कारबाही गर्न पत्राचार गरेको छ । प्रधानमन्त्री कार्यलयले कारबाही गर्न निर्देशन दिएको छ । तर, किन अपराधीको खोजी हुदैन ? किन हामी न्याय पाउदैनौँ ? सुन्तलीको फाईल किन खोलिदैन ?’

उनी विस्वस्त हुदै आफ्नो प्रश्नको जवाफ आफँै दिन्छिन ‘मेरो छोरीको फाइल नखोलिनुमा तत्कालिन रामेछाप जिल्लाको प्रहरी नायव उपरिक्षक संजिव शर्माको हात छ । शर्मालाई राष्ट्रिय मानव अधिकार आयोगले कारबाही लागि प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेको थियो ।’ तर, मानव अधिकार आयोगले भनेजस्तो डिल्लीमायाले नत न्याय पाइन नत संजिव शर्मालाई कारबाही भयो ।

मानवअधिकार आयागको पत्र


मानव अधिकार आयोगले पठाएको पत्रलाई आधार मान्दै प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय सिंहदरबारलाई सुन्तलीको हत्यारालाई कारबाही गर्न निर्देशन दिएको थियो । उक्त पत्रमा बारा कलैयाको पूजा बोहोरालाई जस्तै क्षतीपुर्ती उपलब्ध गराउने भनि लेखिएको थियो । उक्त निर्देशन दिएको १० महिना बितिसक्दा पनि गृहमन्त्रालयले केही जवाफ दिएको छैन । ‘गृहमन्त्रालयमा हामीले पटक पटक जवाफ माग गरेयौँ, तर, अहिलेसम्म मन्त्रालयले केही बताएको छैन । टेलिफोन सम्र्पक गरेर सोध्दा बताउन मिल्दैन भन्छ ।’ डिल्लीमाया भन्छिन– ‘हामी गरिबले सूचना समेत पाउदैनौ । तर, म यत्तिकैमा न्याय माग्न छोड्दिन ।’

प्रधानमन्त्री कार्यलयले गृहमन्त्रालयलाई लेखेको पत्र 


सुन्तलीको अभियुक्त परिवारको निरन्तर सम्र्पकमा रहेको थाहा छ डिल्लीमायालाई । प्रहरीले चाह्यो भने एकैछिनमा पक्रन सक्छ । प्रहरीले अभियुक्त देखेपनि नपक्रेको उनको गुनासो छ । उनी भन्छिन ‘अहिलको नेता तथा प्रहरीहरुको छोरीलाई बलात्कार गरेर कसैले हत्या गरेको भए हत्यारा अहिलेसम्म बाचिराखेको हुन्थ्यो ? हत्यारा खुलेआम हिड्न पाउथ्यो ? तिनीहरुले हामीले जस्तै न्याय खोज्न सम्पती सकेर बिल्बिाठ हुनुपथ्र्यो ?

रुदै गरेको उनको प्रश्नले जो कसैको आखाबाट आशु रसाउछ ।’ उनलाई न्याय नपाइ यतिकै मरिन्छकी भन्ने चिन्ताले सताएको छ । ‘न्यायको खोजीमा भौतारिदा भएभरको सम्पत्ती सकियो । अब त लाग्छ यही पीडाले न्याय नपाइकन मर्छु, कि !’ उनले सुस्केरा हाल्दै थपिन् – ‘न्याय नपाइ मरे भने मेरो परिवारको बिचल्लि हुनेछ ।’

 

dilli maya tamang dsp sanjib sharma das ramechap balatkar ghatana suntali tamang डिल्लीमाया तामाङ डीएसपी सञ्जीव शर्मा दास मुख्यसचिव लिलामणी पौड्याल रामेछापको बलात्कार घटना सुन्तली तामाङको बलात्कार