ताजा खबर प्रवास मेरो परिवार मेरो कथा समाचार

अमेरिकामा वैज्ञानिक किरणको सडक दुर्घटनामा निधन भएसंगै नथामिएको बुबाआमाको आंशु

अमेरिकामा वैज्ञानिक किरणको सडक दुर्घटनामा निधन भएसंगै नथामिएको बुबाआमाको आंशु
kiran-scientist-2 गोरखा नाम्जुङका रामप्रसाद लामिछाने टेलिभिजनमासमेत हृदयविदारक दृश्य हेर्न सक्दैनथे । कहीं कसैको दुःख देखे सहयोगका लागि तातिहाल्थे । अमेरिकामा रहेका छोरा कृष्णलाई फोन हान्थे । सहयोगका लागि भन्थे । सकेको सहयोग आफैंलेपनि गरिसकेका हुन्थे । अपरिचितको परिवारमा आइलागेको चोटले समेत उनलाई दुःखी बनाउथ्यो । ‘यस्तो चोट कसरी सहनसक्छन होला ? कठै !’ उनको मन रन्थनिन्थ्यो । जिन्दगीको नियति कस्लाई के था ? गाऊंकै सबैभन्दा आर्कषक उनको घर पोहोर भुकम्पले भत्काइदियो । गाऊ सोत्तर भयो । अरुको पीडा देख्दा भक्कानो छाड्ने रामप्रसाद अक्क न बक्क भए । मन सम्हाले, ‘धन्न परिवारलाई केही भएन ।’ फेरि अमेरिकामा रहेका छोरा कृष्णलाई फोन गरे, ‘हामी त जसो तसो बाचुंला, अरुका लागि सहयोग जुटाउन पर्यो ।’ भुकम्पलगत्तै नेपाल हानिएका छोरा कृष्णसंगै उनीपनि सहयोगमा जुटे । नेपाली समाज टेक्कासका अध्यक्षसमेत रहेका कृष्णले अमेरिकाबाटै ल्याएको सहयोगले नाम्जुङलगायत देशका विभिन्न ठाऊमा भुकम्प पीडितको दुःख साटे । कान्छा छोरा किरणले भुकम्प जांदा पीएचडी भ्याएको धेरै भएको थिएन । घरबार जोडेका कारण ऋणधन थियो । उनले फोन गरेर भने, ‘बुबा, तपाईले रोपेको सहयोगरुपी बिरुवालाई दाइले हुर्काउनुभयो । अब मेरोपनि राम्रै कमाइ हुन्छ । म यसको संरक्षण गर्नेछु ।’ कान्छा छोराले त्यसो भन्दा रामप्रसादका आंखाबाट हर्षका आंशु बगे । [embed]https://youtu.be/RS86O5mtxR4[/embed] किरण ०३५ साल कृष्णाष्टमीका दिन जन्मिएका थिए । उनीसंगैका केटाकेटी चलेर हैरान बनाउंथे, किरण नरोइकन थपक्क बस्थे । सन्तकी स्वभावका कारण हजुरआमाले उनलाई साधु भनेर बोलाउन थालिन् । गाऊंमा उनी साधुकै रुपमा परिचित भए । कृष्णाअष्टमीका दिन जन्मिएका किरण भविश्यमा ठूलो मान्छे बन्ने ज्योतिषीको भविश्यबाणी थियो । जमानाका भएपनि रामप्रसाद टाठाबाठा थिए । उनले दुःखै गरेर भएपनि छोराहरुलाई पढाइछाड्ने अठोट गरे । जसोतसो जेठा छोरालाई पढाए । जेठा कृष्णले लाइन लिएपछि अरुलाई सजिलो भयो । कृष्णले किरणलाई काठमाडौंमै राखेर पढाए । रामप्रसाद भन्छन्, ‘जेठो बाबुलाई मैले लगानी गरे । अरुलाई उसैले लगानी गर्यो । कान्छो पढ्नमा तेज निस्कियो । दाजुको सहयोगले वैज्ञानिकसम्म भयो ।’ किरण बेलायत पढ्न गए । दाजु कृष्ण र भाउजु माला अमेरिका पुगिसकेका थिए । उनीहरुले किरणलाई उतै बोलाए । संगै राखेर पीएचडीसम्मको अध्ययन गराए । अवसरको खोजीमा किरण कोलम्बिया लागे । दुईबर्ष अघि अमेरिकाको चर्चित प्रयोगशाला एबिसिमा काम गर्न थाले । कमाइ राम्रो थियो । किरणले पखेंटा फिजाउन थालेका थिए । दोस्रो पटक बाबु बन्दै थिए । ८ महिना पुगेकाले रामप्रसाद र मिठुमायाले औंला भांच्न थालिसकेका थिए । सांवाभन्दा ब्याजको माया त्यसै भनिएको होइन रहेछ । मिलेदेखि नाति/नातिनी खेलाउन उतै जाने सोच बनाइरहेका थिए । सधैं व्यस्त भइरहने किरणसंग संगै नबसेकोपनि धेरै भइसकेको थियो । यसपाला धोको फेर्ने सुरसार रामप्रसाद दम्पत्तिको थियो । kiran-scientist-3 शनिबार सबेरै जेठो छोरा कृष्णको फोन आयो । फोनमा आवाज कांपिरहेको थियो । रामप्रसाद छांगाबाट खसेजस्तो भए । कान्छो छोरा किरण सधैंका लागि बिदा भइसकेका रहेछन् । आफ्नै कार्यालय बाहिर सडकपेटीमा हिडिरहेका उनलाई अनियन्त्रित गाडीले ठक्कर दियो । ५६ बर्षिय राफ रिंगरले मदिराको नशामा चलाएको गाडीले किरणलाई हानेको थियो । अस्पतालमा उनलाई मृत घोषणा गरियो । टेक्कासमा रहेका दाजु कृष्ण कोलम्बिया हानिए । आफैंले कर्म दिएको भाइको त्यो अवश्था ! उनी सम्हालिन सकेनन् । दुबै बाउछोरा फोनमा रुन थाले । संवाद सकियो । पतिको निधनसंगै ८ महिनाकी गर्भे राजीको होशले ठाऊं छोड्यो । उनी अझै अचेत छिन् । राजी अचेत भएपछि शब बुझ्न नसकिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । यता, आमा मिठुमायाको हालत उस्तै छ । ‘मेरो बाबु, मेरो बाबु !’ एकोहोरो बरबराइ रहन्छिन् । ‘छोराले क्रिया गर्नुपर्ने बेलामा मैले उसको क्रिया गर्नुपर्ने भयो । अरुको सानो दुःखले समेत दुखाउने मलाई दैबले यति ठूलो दुःख दियो ।’ कान्छा छोराको निधनको खबरसंगै काठमाडौंस्थित माइला छोराको घर आइपुगेका रामप्रसादले डांको छोडे । kiran-scientist-1 उनीहरुसंगै नाम्जुङबाट केही आफन्त काठमाडौं आएका छन् । काठमाडौंमा रहेका आफन्तले शोकमा साथ दिइरहेका छन् । घरगाऊंकाले क्रिया गाऊंमै गर्नुपर्ने बताइरहेका छन् । भुकम्पले भत्काएको बस्ती उजाड छ । बर्खाको बेला क्रिया बस्नेजस्तो ठाऊंपनि छैन । उता अन्तिम दाहसंस्कार भइनसकेकाले यता क्रिया गर्न पाइएको छैन । शोकैशोकमा रहेका रामप्रसादले भने, ‘मेरो छोरो वैज्ञानिक भाथ्यो । देशमै केही गर्न सक्ने वातावरण भएको भए यतै आउंथ्यो । मर्नै परेपनि मेरै काखमा हुन्थ्यो । मलाई नपर्नु पीर परिहाल्यो । अब यस्तो हविगत कोही बाउआमाको नहोस् । शोकलाई शक्तिमा बदल्ने मेरो अठोट छ । छोराको समाजसेवाको धोको पूरा भएन । अब मै बुढो धसिन्छु ।’ kiran-scientist-4 kiran lamichhane death nepali died in road accident ram prasad lamichhane in tears