अन्तरवार्ता कभर स्टोरी परिवार मेरो परिवार मेरो कथा सफलताको कथा

कलियुगका राम, भरत र लक्ष्मणको कथा

कलियुगका राम, भरत र लक्ष्मणको कथा

सिरहाको दुर्गम गाऊ कर्जनाहाकी फुलकुमारी महतोको जीबन संर्घषमै बित्यो । सामान्य आयस्रोत भएको परिवारकी बुहारी फुलकुमारीलाई छोराछोरी हुर्काउनै धौधौ थियो । जसोतसो उनले छोराछोरीलाई विद्यालय पठाएकी थिइन् । भाग्यले साथ दियो । सरकारी विद्यालयमा पढेपनि उनका छोराहरु अब्बल दरिए । जेठा छोरा उपेन्द्र महतोले नाम र दाम कमाउन थालिसकेका थिए ।

बांकी दुई भाइ छोरा र छोरीलेपनि राम्रै मेसो निकालेका थिए । फुलकुमारीको परिवार फुलबारीजस्तै फक्रदै थियो । उनको बसाइ कहिले काठमाडौं त कहिले सिराहामा हुन्थ्यो । उनलाई आफ्नै घरगाऊंमा बस्न बढी मन पथ्र्यो । कर्जनाहास्थित घरमा बसिरहेका बेला फुलकुमारीको छाती दुख्यो । अस्पताल गाऊभन्दा टाढा थियो । एम्बुलेन्सको सुविधापनि उपलब्ध थिएन । हृदयघातका कारण फुलकुमारीको निधन भयो । फुलकुमारीको निधनले महतो परिवारमा बज्रपात आइलाग्यो । आमाबुबालाई दुःखको अनुभुति हुनै नदिने प्रण गरेका महतो दाजुभाइ अकल्पनिय घटनाका कारण विक्षिप्त भए ।

आमालाई अमर राख्ने उपाय खोज्न थाले । आमालाई बचाउन नसकेपनि आमाजस्तै अकालमा मर्नबाट अरुलाई बचाएर आमाको आत्मालाई शान्ति दिन उनीहरुले फुलकुमारी महतो ट्रष्टको स्थापना गरे । १४ बर्ष अघि स्थापना भएको यो ट्रष्टले देशैभरि समाजसेवाका काम गर्दै आएको छ । महतो दाजुभाइले ट्रष्टमार्फत मातृभुमी कर्जनाहालाई मिनी सिंगापूर बनाउने अठोट लिएका छन् ।

[embed][/embed]

अहिले कर्जनाहाको मुहार फेरिएको छ । महतो दाजुभाइको पारिवारिक लगानीबाट बनेका अस्पताल, बृद्धाश्रम, सुविधासम्पन्न विद्यालय, बाटोघाटो र एकीकृत बस्तीका बहुयोजनाका कारण कर्जनाहाको मुहार फेरिएको छ । जहां पुगेपनि जस्तो हैसियतमा रहेपनि आफ्नो माटोलाई बिर्सिन नहुने दाजु उपेन्द्रको आर्दशबाट उत्प्रेरित विरेन्द्र कर्जनाहाको विकासमा निरन्तर खटिएका छन् । उपेन्द्र आफ्ना भाइहरुलाई सम्झाइराख्छन्, ‘व्यक्ति आफु के बन्यो भन्दापनि उसले अरुका लागि के गर्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । आफ्नो कमाइ अरुको भलाइका लागि सदुपयोग हुंदाजस्तो सुखानुभुति अघिपछि पाइदैन ।’ कर्जनाहाको मुहार फेर्न दाजु उपेन्द्रको सोच र लगानीले मुख्य भुमिका निर्वाह गरेको छ । व्यवसायका कारण प्राय देशबाहिर रहने उपेन्द्रको सोचलाई विरेन्द्रले नेपालमै बसेर सार्थक बनाइरहेका छन् ।

विरेन्द्रको नजरमा उपेन्द्र

विरेन्द्र महतोको आफ्नै पहिचान छ । पिएचडी होल्डर विरेन्द्रसंग विदेशमा प्रतिष्ठित जागिर खाएको अनुभवपनि छ । नेपालमा कैयौं व्यवसायिक प्रतिष्ठानको नेतृत्व गरेको विरासतपनि छ । माछापुच्छ्र्रे बैंकका अध्यक्ष विरेन्द्र सभासद्पनि हुन् । उनी भन्छन्, ‘मलाई मेरो आफ्नै पदले चिनेको भन्दा उपेन्द्र महतोको भाइको रुपमा चिनिदा आनन्द लाग्छ । उहां हाम्रो कर्मदाता हो । संगै आर्दश ।’

गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्ष निर्वाचित भएपछि उपेन्द्र विश्वभर रहेका नेपालीमाझ चिनिए । छोटो अवधीमा सम्पन्नताको शीखरमा पुगेका उपेन्द्रले टुप्पोबाट पलाएको भन्ने अनुभुति हुन कसैलाई कहिल्यै दिएनन् । दाजुको बिनम्रता र विनयशिलता तथा सेवाभाव नदेखेको भए सायद विरेन्द्र अर्कै स्वभावका हुन्थे । उनी भन्छन्,‘दाइले हामीलाई सम्पन्नता मात्रै दिलाउनुभएन । सत्मार्गपनि देखाउनुभयो ।’

[embed][/embed]

धेरै घरपरिवारमा दाजुभाइका बीचमा मनमुटाव र प्रतिष्पर्धा हुन्छ । एक भाइ कमाउनेमात्र अर्को गुमाउनेमात्र भएका उदाहरण प्रशस्तै देख्न सकिन्छ । उपेन्द्रले यो नियतिलाई आफ्नो परिवारमा दोहोर्याउन दिएनन । दाजुकै भरथेकमा आफुहरुको व्यवसाय फैलिएको विरेन्द्र खुलस्त बताउंछन् । उनी भन्छन्, ‘हामी अलग भएका छैनौं । सबैले आ–आफ्नो गरिराखेका छौं । तीन भाइमा म आर्थिकरुपमा पछि हुंला तर दाजुभाइको प्रगति देखेर उहांहरुभन्दा म नै बढी खुशी हुंला ।’ अहिलेपनि तीन दाजुभाइका बीचमा नियमित छलफल भइराख्छ ।

दाजुको स्विकृति नलिइ भाइहरुले नयां काम थाल्दैनन् । बयोबृद्ध बुबालाई जानकारी नदिइ उनीहरुले नयां इटा थप्दैनन् । उपेन्द्र ८० को दशकमा रुस पढ्न गए । इन्जिनियरिङ पढेका उपेन्द्रले व्यापार थाले । ९० को दशकको आरम्भमा रुस खुला अर्थतन्त्रमा प्रवेश गर्यो । उपेन्द्रको व्यवसायले रफ्तार लियो । त्यसपछि महतो परिवारमा सबैका लागि सफलताको ढोका खुल्यो । उपेन्द्रकै सहयोगमा दुई भाइ उच्चशिक्षाका लागि रुस पुगे । जागिरे हुदै व्यवसायी बने । विरेन्द्र भन्छन्, ‘दाइ नभएको भए के बन्थ्यौं भन्न सकिन्न । यत्ति भन्न सक्छौं, आज जे छौं त्यो हुंदैनथ्यौं ।’

दाजुले दिएको १ अर्बबाट आरम्भ भएको व्यवसाय उपेन्द्र रित्तो हात रुस हानिएका थिए । कर्मले उनी धनी भए । उनको धनमाथि भाइहरुले दाबी गर्ने ठाऊं थिएन । उपेन्द्र भाइप्रति अनुदार भइदिनपनि सक्थे । पढाइदिएकै थिए । व्यवश्थापनमा विद्याबारिधी गरेका विरेन्द्र विश्वको जुनसुकै ठाऊंमा जागिरे हुनसक्थे । कान्छा सुरेन्द्र मेडिकल डाक्टर भइसकेका थिए । दाजु उपेन्द्रले उनीहरुलाई जागिरे होइन, जागिर खुवाउने बाटो अर्थात व्यवसायमा लाग्न प्रेरित गरे ।

विरेन्द्र भन्छन्, ‘दाइले एक दिन हामी दुबैलाई १०/१० मिलियन अर्थात एक एक अर्ब नेपाली रुपैयां दिन्छु । सके केही कमाओ, नसके केही गुमाएर भएपनि व्यवसाय सिकाओ भन्नुभयो । त्यही रकमले हामीले व्यवसाय थालेका हौं । मैले नेपालमा व्यवसाय गर्न थाले । भाइले बेलारुसमा गर्यो। जे जति व्यवसाय फैलाउन सकेका छौं, त्यही रकमको जगमा फैलिएको हो ।’ विरेन्द्र आफ्नो सम्पत्ति कति छ भन्न चाहदैनन् । तर, उनले दिएको विवरण हेर्दा अरबौंको पूजीका मालिक हुन् उनी । भाइको विशाल साम्राज्य बेलारुसमै फैलिएको छ ।

[embed][/embed]

महतो परिवारको राजनीतिक जीबन दाजु उपेन्द्र महतो सबैजसो पार्टीका सहयोगी हुन् । महतो परिवारबाट सहयोग नलिएको सायदै कुनै पार्टी होला । सानैदेखि विरेन्द्रमा भिन्दै स्वभाव थियो । उनी सामाजिक क्रियाकलापमा दाइ र भाइभन्दा बढी सक्रिय हुन्थे । ठूलो भएपछि दाइका गातिविधि र अर्तिउपदेशले उनलाई झन् बढी सामाजिक बनाउन घच्घचाइरह्यो । आफ्नो माटो भुल्ने र कमाएर आफुमात्र मोटाउने मान्छेको कुनै अर्थ हुंदैन भन्ने उपेन्द्रको उपदेशले उनलाई सधैं केही नयां गर्ने प्रेरणा दियो । समाजसेवा गर्दै जादा उनले मधेशको दुरावश्था गहिरोगरी बुझ्दै गए । कारणपनि जान्दै गए । राजनीतिबाटै आमूल परिवर्तन नगरी नहुने निष्कर्षमा उनी पुगे ।

दोस्रो संविधानसभाभन्दा पहिले उनी संघीय समाजवादी फोरममा प्रवेश गरे । उनी आफ्नो जन्मथलो सिरहा ५ बाट चुनावी मैदानमा उत्रन चाहन्थे । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सो क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरिसकेका थिए । प्रचण्डले सो क्षेत्रबाट चुनावमा प्रतिष्प्रर्धा नगर्न विरेन्द्रसंग पटकपटक आग्रह गरे । दाजुमार्फतसमेत आग्रह आएपछि विरेन्द्र रोकिए । उनी सभासद् त भए तर प्रत्यक्ष निर्वाचित हुन पाएनन् । त्यसयता उनले सिरहामा दर्हो राजनीतिक आधार बनाइसकेका छन् । विरेन्द्र भन्छन्, ‘म सामान्य परिवारमा हुर्के । दाजुको छाहारीमा सम्पन्न भए । म पैसा कमाउनका लागि राजनीति गर्दिन । मधेशको पहिचान र देशको सम्बृद्धिका लागि राजनीतिमा लागिरहेको छु ।’

[embed][/embed]

बहिनी र ज्वांइ जुली र रघुबीर महासेठ एमालेको राजनीतिमा छन् । उनी फोरममा । दाजु सबै दलका दाता । मिलीजुली राजनीति गरेको देखिन्छ । हामीले यही प्रश्न विरेन्द्रसंग गर्यौं । उनले बहिनी र ज्वांइ किशोर अवश्थादेखि नै राजनीतिमा लागेको जवाफ फर्काए । राजनीतिक रुपमा जेजस्तो भएपनि परिवारमा राजनीतिको छायां पर्न नदिएको विरेन्द्रको भनाइ छ, ‘हामी परिवारलाई कुनैपनि हिसावले प्रभावित गर्न दिदैनौं ।’

व्यक्तिगत जीबन र रोमान्स

विरेन्द्र कुरा गर्न सिपालु छन् । फरासिलापनि छन् । मनको कुरा व्यक्त गर्न उनी हिच्किचाउंदैनन् । कोमल वलीले मनमा आंट भएको र गोजीमा गांठ भएको केटा मन पर्ने भनि गाएको गीतको प्रसंग सुनाएर हामीले उनलाई सोध्यौं, ‘गाठपनि छ, आंटपनि छ । रोमान्स कत्तिको हुन्छ ?’ उनले आफु रोमान्टिक रहेको उत्तर दिए । ‘नेपाली समाजमा सामान्य विषयलाई पनि अनर्थरुपमा लिइन्छ । दिल खोलेर रोमान्स गर्न मन लागे यूरोपतिर हानिन्छु ।’ हास्दै उनले भित्री कुरा व्यक्त गरे ।

[embed][/embed]

समयको चापाचाप छ । तर उनले घरपरिवार, राजनीति, व्यवसाय र समाजसेवामा समय दिन भ्याइरहेकै छन् । उनी भन्छन्, ‘सक्रिय जीबन सबैभन्दा सुन्दर जीबन हो । म एकै ठाऊंमा एउटै कुर्सीमा एकाध घण्टापनि बस्न सक्दिन ।’ उनका केही सोख छन् । घुम्ने, रमाउने र फेरीफेरी गाडी चढ्ने । उनी सहयोग गर्न पाउंदा रमाउंछन् । दिनहुं कोही न कोही सहयोगका लागि उनकोमा आइरहन्छन् । बास्तबमै पीडामा परेकालाई सहयोग गर्दा परमसन्तुष्टि प्राप्त हुने उनको भनाइ छ ।